Pages

Monday, June 27, 2011

प्रधानमन्त्री खनाल र अध्यक्ष दाहालबीच छलफल, शान्ति प्रकृयालाई तिब्रता दिइने


काठमाडौ, अषाढ १४ - प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच शान्ति प्रकृया र संविधान निर्माण प्रकृयालाई तिब्रता दिने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको करिव एक घण्टा लामो छलफलमा समय थोरै रहेकाले गत जेठ १४ गते भएको पाँच बुँदे सहमति कार्यन्वयनका सम्बन्धमा दुवै नेताले गम्भीर रुपमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
'उहाँहरुबीच हाल देखा परेका अन्योलहरुलाई हटाउने, शान्ति प्रकृयालाई तिब्रता दिने र सबैको सहमतिमा बजेट समयमै ल्याउने कुरामा छलफल भएको हो' थापाले ईकान्तिपुरसंग भने ।
छलफलका क्रममा माओवादी अध्यक्ष दाहालले पार्टी भित्र भइरहेको छलफलले शान्ति प्रकृया अघि बढाउन कुनै समस्या नहुनेसमेत जानकारी गराएका थिए । उनले यसअघि पार्टीले गरिसकेका निर्णयहरुका बारेमा पुनर्विचार गरिरहनु नपर्ने समेत उल्लेख गरेका थिए ।
दुवै नेताहरुले पाँच बुँदे सहमतिको पहिलो र दोस्रो बुँदा कार्यन्वयनको चरणमा रहेका कारण सहमति बनेपछि मात्र प्रधानमन्त्रीले राजीनामा दिने कुरामा सहमत देखिएका थिए ।